THE
SKIN
OF
CHITWAN

अडियो बजाउनुहोस्






फोटो - नापी विभाग नेपाल
१९९३
.
जीवन सतहमा बाँच्छ । हामीले पाउने भनेको यही जमीन मात्रै हो । यद्यपि हाम्रा परिवेशले चिरपरिचित यो दुनियाको द्रुत र व्यापक विनाशको भुमरीबीच दमित कैयन चुँडालिएका जीवनक्रमका कथा भन्छन् ।
हाम्रा बासस्थानका सेरोफेरोमा हामी अघिका जीवनसञ्जालका अवशेष रहेका हुन्छन् । हाम्रा पर्यावरणमा रहेका यिनै अवशेषले हाम्रो माटोको अव्यक्त र अनिर्णित इतिहासका गुञ्जन पक्डन हामीलाई अभिप्रेरित गरिरहेका हुन्छन् ।
आफ्नै माटोको आफू बन्न हामीले बिर्सिसकेको परिप्रेक्ष्यमा यी अवशेषात्माले हामीलाई पार्थिव बन्न भन्छन् – अझैपनि मानवताको प्रमुख भाष्य
पृथ्वी बसोबास गर्न योग्य रहने वा नरहने भन्ने बारे नै हो ।
माटोको आफ्नै प्राणवायु हुन्छ – त्यसले आफ्नो परिवर्तनकारी गतिविधिमार्फत मानव र अन्य सजीव तथा निर्जीव, भूत र भविष्यका तत्त्वहरूसँग हामीलाई जोडिरहेको हुन्छ ।
म्याग्निफिकेसन 150x
जयमंगलका सिमलबोट
"यो चाहीँ सिमल भन्छ यसलाई । सिमलको भुँवा भन्छ नि । सिमलको अहिले फुल्ने बेला भयो । फूलझरिसकेपछि त्यसको भुँवा निस्किन्छ । त्यसको फ्रुट (फल) आउँछ के एउटा कटनको (कपासको) । मान्छेलेपहिला पहिला लोकल (रैथाने) मान्छेहरूले रुई नभएको बेलामा थारु जातिहरूले जङ्गलमा गएर टिप्ने गर्थे ।टिपेर सिरानीको खोलमा,सिरानीमा हाल्ने गर्थ्यो के यिनीहरूले …सिरकमा हाल्ने गर्थ्यो ।"
स्वर - सोम बोटे
सौरहा
साबिकको थारु गाउँ जयमंगल भएको स्थान
कुनै स्थानविशेषप्रति अभिमुखित हुनु अर्थात् बाटो नबिराउनु, त्यसै स्थानमा बसोबास गर्ने परिचित अन्य प्राणी तथा आत्मा सम्मुख पर्न वा तीबाट तर्कन आफ्नो हिँडाइको गति मिलाउनु ।
यी स्थानहरूले थारुहरूलाई आफ्नो परिवेशमा चार दिशासापेक्ष अभिमुखीकरण गर्थे । देवीदेवता, भूतप्रेत तथा जीवजन्तुबारे कथा र स्मृतिले समयको बन्धन बाहिरै जमीनसँग जोडिने संरचना उपलब्ध गराउँथ्यो – वर्तमान तथा भविष्यकालागि सहभागिताको एक खुल्ला मंच।
अहिले चितवनका परिवेशमाथि निर्देशन तथा भ्रमणबारे नितान्त नयाँ सञ्जाल जोडिएका छन् ।
नेपालको प्रगतिबारे नयाँ परिकल्पना बोकेको परिवर्तन माटो गिजोल्ने मेसिन अघि लगाएर आक्रामक शैलीमा हुत्तिँदै आएको छ । नेपालीहरूको परिकल्पनामा चितवन पर्यटनकालागि वनजंगल जोगाएर राखिएको ठाउँ मात्रै हो । तर यस भेगको निकट विगत उत्कर्षमा पुग्दैगरेको पर्यावरणीय संकटको अभिलेख हो – यहाँ ठूलो परिमाणमा वनजंगल मासिएका छन्, प्रदूषण र जमीनको सघन उपभोगको गति बढेको छ, जैविक प्रजाति विनाश हुँदैछ, घरबार र बासस्थान मासिएका छन् । यी घटना एन्थ्रोपोसिन अर्थात् मानवयुगका उपज हुन् – वर्तमान कालखण्ड जसमा मानवजातीको असीम महत्त्वाकांक्षाअन्तर्गतका गतिविधिले यस ग्रहको भौगर्भिक यथार्थलाई नै परिवर्तन गर्नेसम्म जीवनमृत्युका अवस्थितिलाई पुनर्संरचना गरिरहेका छन्।
जलवायु परिवर्तनका नाटकीय परिणामबाहेक एन्थ्रोपोसिन अरु प्राणीहरूबीच जिउनु, जीवन्त रहनु, मौलाउनुको जालोको ऐन्द्रियक ज्ञानकोशहरूलाई पूँजीको पुनरुत्पादनका निम्ति कसरी पाखा लगाइन्छ भन्ने कथा पनि हो ।
नेपाल निर्माणको क्रममा हाम्रालागि अन्नबाली उब्जाउन, बासस्थान निर्माण गर्न, राजमार्गहरू मार्फत देशका अन्तरकुन्तर जोड्न र राष्ट्रले ओगट्ने यौटै कालखण्ड र स्थानविशेषमा हामीलाई समेट्न चितवनको कतिसम्म दोहन गरिएको छ भन्ने हामी थोरैले मात्रै बुझेका छौँ ।
आफ्नो जिउनीमा भएका यी गम्भीर परिवर्तन तथा द्रुत ह्रास थारुहरूकालागि आफ्नो जमीनमा आफैँ पराई बन्नुको भाव बनेको छ । विश्वभरिकै आदिवासी मानिसहरू झैँ आफ्नो पुर्ख्यौली क्षेत्रबाट जबर्जस्ती हटाइनु नेपालका थारुहरूको पनि नियति बनेको छ । तर त्यस अलावा उनीहरूले आफ्नै जमीनसँगको आफ्नो प्राण धानिदिने सम्बन्धलाई पनि गुमाएका छन् ।