औलोको डर हटेपछि एक आप्रवासीले भनेझैँ ‘घारबाट मौरी ओइरिए झैँ’ पहाडीहरू चितवन उपत्यकामा बसाईं सरेर आइपुगे। सन् १९६२ सम्ममा सबै बस्ती भरिभराउ भइसकेका थिए। उपलब्ध भएजति जमीन आप्रवासीले ओगटे तर गैरकानुनी नै भए पनि उनीहरूले थप जमीनमा पनि खेती गर्न थाले। त्यसपछिको एक दशकमा थारुहरूको संख्या स्थिर रहेपनि आप्रवासीहरूको संख्या डेढ लाख पुग्यो। उपत्यका त्यसबेलादेखि भएको परिवर्तनबारे आप्रवासीका पुराना पुस्ताले गर्व गर्छन्। ‘हामीले खोरिया फाँडेर जमिन बनायौँ,’ एक अप्रवासीले भने, ‘नत्र त हामीभन्दा अग्लो हात्ती घाँस अझैपनि यहीँ हुन्थ्यो।’


धान र मकै खेती गर्न जमीन खोज्ने आप्रवासीले घाँसे मैदान फाँडे, रुख ढाले । काठ चिर्ने नयाँ मिलले यस प्रक्रियालाई झनै गति दियो। सन् १९५० को दशकको मध्यतिर उपत्यकाको करिब २० प्रतिशत खेतीयोग्य जमीनमा खेतीपाती थियो। सन् १९७७ सम्म आइपुग्दा उपत्यकाको ५० प्रतिशत जमीनमा खेतीपाती हुँदैथियो। सालको वन नष्ट भयो र घाँसेमैदानहरू झन्डै लोप भए। अहिले तराईभरिमै जम्मा २ प्रतिशत जमीनमा मात्रै अग्ला घाँस बाँकी छन् – त्यो पनि संरक्षित क्षेत्रभित्र।


घाँसेमैदान र जंगललाई धानखेत र मकैबारीले विस्थापन गरेपछि र नयाँ आप्रवासीले आफ्नो आहारमा शिकारको मासु सामेल गरेपछि जंगली जनावरको संख्या घट्यो। रतुवा मृग र अर्ना सन् १९५० को दशकमा हराए। सन् १९६० को दशकको मध्यसम्ममा पाटेबाघ, गैँडा र जंगली हात्तीको संख्या अत्यन्तै घटेर गयो। सारस, बकुल्ला, ट्याकट्याके, खरमजुर र सानो खरमजुरजस्ता घाँसेमैदानमा पाइने चराका प्रजाति लोपोन्मुख छन्। दुर्लभ घरियालले बासस्थान गुमायो।


झन्डै रातारातजसो आप्रवासनले थारुहरूलाई आफ्नै मातृभूमिमा अल्पसंख्यक बनाइदियो। सन् १९५५ मा झन्डै शतप्रतिशत बासिन्दा थारु थिए। सन् १९७० मा आइपुग्दा थारुहरूको संख्या जम्मा १४ प्रतिशतमा झरिसकेको थियो।

 

थोमस बी. रोबर्टसनको "डीडीटी र शीत युद्धको जंगल: नेपालको राप्ती उपत्यकामा अमेरिकी वातावरणीय र सामाजिक इन्जिनियरिङ” बाट उद्धरण गरिएको
अमेरिकी इतिहासको जर्नल १०४(४)

२०१८

 

फोटो - डेभ होल

१९६७

 

 

 

पहिलो ट्रयाक्टर

.

"२०१५/१६ सालतिर बाट बल्ल हामीले… त्यो बेलामा स्लिपर भन्थ्यौँ । स्लिपर भएको नामबाट धेरै आउने नि त । अलिअलि चैँ खराउको लगाउनुहुन्थ्यो मेरो बुवाहरू । सवारीसाधन भन्ने कुरा त यहाँ अलि राम्रोसङ्ग चल्न थालेको त कति… ३२/३३ सालबाट अलिअलि बल्ल सेवाहरू सुरु भयो । मेरो ठाँइलो बुवा गुण राज पाठक चैँ भाईहरूमा अलिकता पढ्न ठिकै । धेरै पढेको पनि हैन तैपनि, उहाँ चाहिँ कसरी गर्नुभो… यो बिकास कसरी गर्न सकिन्छ, खेतीपातीलाई कसरी आधुनिकरण गर्न सकिन्छ भन्नेको चैँ एउटा जिज्ञासा रहेछ।

अनि योमै लाग्यो यो मान्छे। अनि, ट्रयाक्टर ल्यायो भने हुन्छ रे भनेपछि उहाँले ट्रयाक्टरको अवधारणा ल्यानुभयो। र ट्रयाक्टरको अवधारणा ल्याउनुभएपछि को-हो-को आफ्नो इष्टमित्रहरूसङ्ग सोधेर, उहाँ ट्रयाक्टर हेर्न कल्कत्ता पुग्नुभएछ, भोल्टाज कम्पनीमा। भोल्टाज कम्पनीमा त्यतिखेर इन्डियाले बनाउथ्यो होला तर, बेलायती चिजहरू थियो त्यतिखेर जम्मै मेड इन इङ्गल्याण्ड (बेलायतमा बनेको) । त्यहाँ गइसकेपछि, त्यहाँको मान्छेले चैँ भन्यो, यहाँ आएर उहाँले वर्णन गर्नुहुन्थ्यो, "देखो, ये ट्रयाक्टर है; ये पहाड भि चढेगा; ये सब तुम्हारा कल्टिभेट करेगा" (हेर, यो ट्रयाक्टर हो; यो पहाड पनि उक्लन्छ; तिम्रो सब खेतीपाती गर्नेछ) भनेर दुई-तीनटा जोत्ने चिजहरू देखायो । अनि पैसा तिरेर २०१५ सालमा सत्र हजार रुपैयाँमा ट्रयाक्टर लिएर आउनुभयो। २०१५ साल तिर मलाई याद छ, हामी चितवन बेलाबेलामा परेवाकोटबाट यहाँ आउन त धेरैबेर लाग्दैन्थ्यो, त्यो पिप्लेबाट प्रतापपुर आउनलाई, एक घण्टा जति (लाग्थ्यो)। अब केटाकेटीको अवस्था हामीलाई रमाइलो नि लाग्ने । त्यो बाटो भर्खर यहाँ खुल्दै थियो। बाटो बनाउँदै थियो । रोहत्तर खोलामा बाटो पुल हाल्न सकेन, कज बियो बनायो । अनि, गाडीहरू एक्दम कम हिँड्थे । बाटो खन्ने मेसिनले बाटो खन्दै जाने, हामीलाई रमाइलो लाग्दै जाने, हामी हेर्दै जाने। यस्तो एवमक्रमले… बस्न पाएहुन्थ्यो भन्ने तर, बस्न नदिने। “ए! जा उता तिमीहरू गैहाल। फेरि, औँलो लागेर मर्छौ भोलि भन्ने। अनि (ज्यान)मारा औँलो नलागोस् भनेर मचान ठुल्ठुला खाँबा गाडेर अग्लो अग्लो माथी गएर बस्नुहुन्थ्यो बुवाहरू । एवमक्रमले सोह्र सालमा चाहिँ यहाँ मलेरिया इर्‍याडिकेट(उन्मुलन) गर्ने भनेर डी.डी.टी पाउडर छर्किन सुरु भयो। २०१८-२० सालतिर यहाँ एउटा अमेरिकन प्रोजेक्ट (योजना) आयो। अमेरिकन प्रोजेक्ट आएर, अमेरिकनहरू आफैँ आए । कृषि कारिगरी सिकाउने भनेर। सिकाउने भनेर आएपछि अलिकती भाषाको समस्या भएको थियो । अनि, मेरो बुवाहरूले चाहिँ हामी अलिअलि अङ्ग्रेजी पढेको भनेर "अङ्ग्रेजी बोल् योसङ्ग अङ्ग्रेजी बोल् " भन्नुहुन्थ्यो । अब ऊसङ्ग अङ्ग्रेजी बोल्ने त टेन्डेङमेन्डेङ सामान्य भाषा मात्र बोलेर काम लागेन। उस्ले गर्न आएको कुराहरू हामी जम्मै बुझ्न त गाह्रो हुन्थ्यो, हामी बुझ्न सक्दैनथ्यौँ। तर उसले आएर के सिकायो भने- ‘तपाईंको यति जग्गामा कति फल्छ?’ पहिला उस्ले हिसाब गर्‍यो। यति फल्छ भनेपछि उस्ले त्यस्को रिकर्ड राख्यो । मानौँ, एउटा दस कठ्ठामा उस्ले के भन्यो भने, तपाईंको यति फल्छ भने , म आफैँ बसेर तपाईंलाई यस्को डबल (दोब्बर) फलाइदिन्छु। यो नब्बे दिनमा यो पुरै धान फल्छ, पाक्न नि पाक्छ । अनि त्यस्पछि तपाईं अर्को बाली लगाउन सक्नुहुन्छ। त्यसपछि फेरि अर्को बाली लगाउन सक्नुहुन्छ भनेर त्यो रासायनिक मलहरू प्रयोग गर्न लगायो हेर, पैसा नलिइकन।"

 

स्वर - हरी शरन पाठक

टाडी

 

 

 

फोटो - अमृत बहादुर चित्रकार

नेपाल पिक्चर लाइब्रेरी

 

बसोबासका परिवेश विच्छिन्न हुँदै जाँदा पनि विस्थापनका इतिहासले प्राय: पूर्ववत् अभिमुखीकरणलाई निरन्तरता दिन्छन् । र यो क्रम फगत स्मृतिको रूपमा मात्रै सीमित हुँदैन । अनुपस्थितिको अर्थ तिनले हाम्रो अपेक्षा माग्दैनन् भन्ने हैन । उपस्थितिका अन्य रितिमा तिनको भेउ पाउन सकिन्छ – अनुपस्थितिले विश्वमाथि स्वप्नजनित दर्शनले झैँ प्रभाव पारिरहन्छ ।

 

विपनाका तर्कलाई क्रमभंग गरिरहने सपनाले कल्पित लोकहरूलाई पनि यथार्थ र प्रत्यक्ष भएझैँ व्यवहार गर्न माग गर्छन् । हामी यस संसारमा हुनुबारे अन्य व्याख्या भेट्टाउन बाध्य बनाउँछन् ।

 

मानवइतर तत्त्वहरूले हामीमाथि पार्ने प्रभावलाई साक्षात्कार गर्न / चिन्न बाध्य बनाउँछन् । मायावी प्रभावकारितासहित सपनाहरूले हामीलाई जीवन भनेको समयको सिधा रेखामा संकलित अनुभवहरूको फगत गणना मात्रै होइन भन्ने बुझाउँछन् – बरु जीवन जटिल पार्थिव सञ्जाल तथा विचित्रका समयवक्रले उत्पादन गर्ने स्वरूप पनि हो ।

 

 

वनकोसेली

 

.

"अनि, बुवाआमाले जङ्गल लानुभा'थ्यो । जङ्गलको त्यो जडिबुटीको नाम मलाई थाहा भएन के भन्छ (भनेर) । अनि त्यो जडिबुटी देखाइदिनुभयो । अनि “हिँड अब” (भन्दै) बागतिर पनि लानुभयो । यो यस्तो हो यो भनुम् न… बुट्टीभाङ्ग हो, यो सहदेव हो (भनि चिनाउनुभो) । अनि, हामीलाई केही भयो भने तिमीहरुले त्यही गरेर खाओ भनेर । हाम्रो मामा खलक पनि बरदानै पाउनुभाछ के । हाम्रो हजुरआमा …आमापट्टिको आमाको घरको …तीनटा दाजुभाइ थिए रे । तीनटा त्यतिखेरको बुढाहरू, तीनवटा दाजुभाइ थिए रे हाम्रो हजुरआमाको बाउहरू । अनि, उनीहरू दाम्रा अर्काको हेँगा ल्याको रे के । हेँगामा गएको रे अनि लायो । अनि बेलुका घाम अस्ताएसी अलिकती बाँकी थियो रे । फेरि एकपटक घुमेर आउँदा त त्यो हेँगा भाँचियो रे के । भाँचिएपछि “ला! अब अर्काको हेँगा ल्यायो… अब हामीलाई मार्ने भयो । अब अर्को बनाएर दिउँ भने नि काठ छैन ।” उनीहरूलाई नि चाहिएला भनेर हजुरबा त रातभरी नसुत्नुभा' रे के । ला! अब के गर्ने होला भनेछ, जतिखेर आँखा यसरी निदाऊ… झकाउन जान्छ रे । अनि, फेरि त्यही सम्झिन्छ, त्यही याद आउँछ रे । अनि त्यसो गर्दागर्दा उज्यालो हुने बेलामा सपनामा दियो रे के ।

 

"किन आत्तेको? त्यो जाबो काठको धुमा भाँचिदा त्यसरी आत्तिनुपर्छ ? जङ्गलमा गएर एउटा लहरा छ । त्यो लहरालाई हेँगाले यसरी गरेर बान्दिने (बाँध्दिने) । ठ्याक्कै त्यस्लाई कहाँनेर भाँचिएको छ, यसरी गरेर, ट्याप्पै बान्दिनु (बाँध्दिनु) त । अनि बिहान उज्यालो हुने बेला सम्म ठिक छैन/ भएन भने मलाई भन्नू" भनेको त । "यो कुरा साँचो हुन्छ र सपनाको कुरा पनि? "

 

भन्या त "हो, यो कुरा साँचो हो, ल यो कुरा सही हो । ल, उठेर… जुरुक्क उठेर गैहाल्नु" भन्यो रे । अनि उतिखेर गयो रे, अनि त्यहाँबाट लहरा ल्याएर, त्यो हेँगालाई बान्दियो रे के । बिहान उज्यालो हुने बेलामा त त्यो हेँगा त भाँचेको हो कि नभाँचेको हो, जस्ताको तस्तै, एकदम सद्दे भयो रे के । सद्दे भयो रे अनि त अर्काको घरमा भनेर, उज्यालो नहुँदै, भनुम न, पाँच बजे अलि अध्याँरै हुन्छ नि त । त्यतिखेर नै लगेर जिम्मा लगाइदियो रे । लौनु तपाईको हेँगा भनेर । त्यहाँबाट फेरि “अनि कस्तो लाग्यो?” भनेर राती अब फेरि रातदिनभरी काम गर्यो यताउता अनि राती सुत्यो । अनि, फेरि सपनामा आयो रे के त्यो मान्छे । आयो रे, "कस्तो लाग्यो ? हेँगा राम्रो भयो ?" भनेको त, अँ, उनिहरूलाई पनि हेँगा लाग्यो । भाँचेको जस्तो पनि छैन "
- "हो, तिमीले अरुको हातखुट्टा भाँच्यो (भाँचियो) भने, बस्तीको मान्छेको, जे जुन जन्तुहरूको भाँचे पनि तिमीले यसैगरी गर है” भनेर दिएको रे । अनि, अस्ति हाम्रो आमाको हात भाँच्दा पनि, त्यहीँ जानुभा'को ।""

 

 

 

स्वर - सुकाली राउत

हरनरि

 

स्थानीय परम्परागत औषधि विशेषज्ञ रामदिन चौधरीको डायरीका पन्ना

 

 

 

.

छालामा तोरीको लेप

"बच्चालाई मालिस गर्नैपर्छ । देह पुष्ट हुन्छ, बलियो हुन्छ । अर्को अर्को मान्छे(लाई) “ल लहाइदेऊ रे, खराइदेऊ रे” भन्छ । “तेल, फूल लगाईदेऊ, मालिस गर्देऊ” भन्छ । (एक) करुवा तेल… तोरीको तेल तताउँछ “ल मालिस गर्देऊ” । पाँच सय, हजार, कपडा दिन्छ । कौनोकौन (कोहीकोहीले) दिँदैन ।"

 

स्वर - निर्हुरी चौधरी

बछौली

अमूक समयको हुनु र अमूक स्थानको बन्नुबारे पारिवारिक अभिलेख । हरनारीका बासिन्दाका निजी एल्बमबाट संकलन गरिएका पुराना पारिवारिक फोटोहरू ।

कर्टसी - मनगनी राउत

 

 

अहिले उपत्यकाको एक तिहाइ भूभाग मात्रै वनले ढाकिएको छ र जंगलको झन्डै सम्पूर्ण भाग निकुञ्जभित्र पर्छ । वन मासिनाले वनजंगलबाट शक्ति खिच्ने आफ्ना परम्परागत देवीदेवता कम्जोर भएकाछन् भन्ने थारुहरूको विश्वास छ । वनफँडानी र व्यापक बस्तीनिर्माणले भूतमाथिको विश्वास जोगाईराख्न आवश्यक परिस्थितिलाई हटाइदिएको छ । तर त्यत्तिकै महत्त्वपूर्ण विषय छ औलो उन्मूलन पश्चात बाह्रैमास सँगै बस्न सक्षम बाहुन पुरेतको उपस्थिति जसका कारण समयसमयमा भूतलाई मन्साउने क्रियाकर्म गर्न सम्भव भएको छ । भूतको बाटो भनेर परिचित ठाउँहरूमा पहाडियाहरूले वा कुनैकुनै थारुहरूले नै पनि घर बनाएको र त्यसबापत कुनै दुर्भाग्य भोग्नु नपरेको यहाँका थारुहरूले देखेका छन् । अचेल भूतले खासै मान्छे सताउँदैनन् ।

 


अर्जुन गुणेरत्नेको अंश, "शामन र पुजारी: थारू समाजमा भूत, मृत्यु र धार्मिक अनुष्ठानका विशेषज्ञ” बाट उद्धरण गरिएको
हिमालय १९(२)
१९९९

 

 

 

 

 

 

.

रतनपुर, जुन कुनै समयमा नारायणी नदीको तिरमा फैलिएको थारु र बोटे बसोबास भएको ठूलो बस्ती थियो । सन् १९९४ को बाढीले रतनपुरको माझी समुदायलाई पूर्णत: विस्थापन गर्दै सुकुम्बासी बनाइदिएको थियो ।

 

 

.

पदमपुरको परित्यक्त इनार

 

मेरो जनम , जयमङ्गला भन्ने गाउँ हो । पहिले … खोला तरेपछी गाउँ आउँथ्यो जयमङ्गला । त्यही गाउँ जिम्दारी मेरो, त्यहीँ जन्मेको पनि । मेरो बाउबाजेहरू त्यहीँ । त्यहाँबाट चैँ नि यसलाई नद्दिरले …नाहारेहरू जम्मै भत्काएर लगिदियो । अनि यो गाउँ पनि आफ्नै राखेर भेँडाउनी भन्ने गाउँपछि त्यो चाहिँ खाली थियो गाउँ । गाउँ जिम्दार छोडेर भागेको केसाकार गरेर माल्पोत सकार गरेर यो गाउँ चैँ नि हामीले राख्यौँ । त्यहाँ त राम्रो भइसकेथ्यो । त्यहाँ इचारविचार गरेर दर्शनभेटमा चैँ “यो तटबट (तटबन्ध) गर्दिए राम्रो ठाउँ छ सरकार” भन्दाखेरीमा…(मानिदिएन) । राम्रो ठाउँ थियो… तर ऊ सरकारले कुनै बास्ता गर्दिएन । त्यही तटबट गर्दिएको भए त्यो पदमपुर… त्यसको डुबान हुने थिएन ।

 

स्वर - बाजिराम महतो

टाडि

 

 

 

 

 

.

.